रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१/०९/१८
प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसंचार सेवा प्रदायकहरुले सेवा संचालन गरे वापत कुल आम्दानीको ४% का दरले रोयल्टी तथा २% का दरले ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको | साथै दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा "वार्षिक कुल आम्दानी" भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मुल्य अभिवृद्धि कर लगायत अन्य अप्रत्यक्ष कर तथा दूरसञ्चार सम्बन्धी उपकरण बिक्री गर्दा प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदान गरे वापत अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको आम्दानीलाई जनाउँछ भनि परिभाषित गरेको | कतिपय इन्टरनेट (ईमेल) सेवा प्रदायकहरूले उक्त व्यवस्था बमोजिम कुल आम्दानी गणना नगरी इन्टर्नेट सेवा संचालन तथा बिक्रि वितरण वापत मर्मत सम्भार लगायतको शिर्षकबाट प्राप्त गरेको कुल आम्दानीमा रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाएको नदेखिएको | सोहि विषयमा श्री सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको फैसलाबाट कुल आम्दानीका सम्बन्धमा थप स्पष्ट समेत भएको हुँदा इन्टरनेट (ईमेल) सेवा प्रदायकहरूले उल्लेखित शिर्षक बमोजिमको कुल आयमा नियमानुसार लाग्ने थप दस्तुर सहितको बुझाउन बाँकी सम्पूर्ण रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम २०८१ पौष मसान्तभित्र दाखिला गर्न अनुरोध गरिन्छ। साथै दाखिला गरेको भौचर तथा निस्सा यस प्राधिकरणमा अनिवार्य रुपमा दर्ता गरी जानकारी गराउनुहुन समेत यसै सूचना मार्फत अनुरोध गरिन्छ।
नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाडौं, नेपाल ।
जि.पि.ओ. बक्स. ९७५४
फोन नं. +९७७-१-५३५५२५०
इमेलः ntra@nta.gov.np,
वेवसाइटः www.nta.gov.np